भाषा यादृच्छिक वाक्प्रतीकहरूको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरू आफ्नो विचार विनिमय गर्दछन् । भाषालाई स्पष्ट रूपमा चिन्न यसका प्रकृति र विशेषताहरूको उल्लेख गर्नु अझ सान्दर्भिक ठहरिन्छ । भाषा पूर्णतः पैतृक सम्पत्ति नभई मानिसको आर्जित सम्पत्ति हो । भाषा सामाजिक वस्तु हो र यो एकप्रकारको परम्परा पनि हो । कुनै पनि व्यक्ति भाषाको आर्जन गर्न सक्दछ तर पूर्णरूपले उत्पादन गर्न सक्दैन । वास्तवमा भाषा अनुकरणद्वारा आर्जन गर्ने गरिन्छ । भाषा परिवर्तनशील हुने भएकाले यसको कुनै अन्तिम स्वरूप हुँदैन । भाषाको भौगोलिक र ऐतिहासिक सीमा हुन्छ । प्रत्येक भाषाको आफ्नै प्रकारको संरचना हुन्छ । स्वाभाविक रूपमा हरेक भाषा जटिलताबाट सरलतातर्फ यात्राशील रहन्छ । त्यस्तै हरेक भाषा आफ्नो विकासको व्रmममा स्थूलबाट सूक्ष्मतिर र अपरिपक्वको स्थितिबाट परिपक्वको स्थितितिर यात्रारत रहन्छ । सबै भाषाको आफ्नो मानक रूप हुन्छ । यादृच्छिकता, सिर्जनात्मकता, द्वैधता, सान्दर्भिकता, मौखिकता, श्रावणिकता भाषाका विशेषता हुन् ।
प्रश्नहरू
(क) भाषा भनेको के हो ?
(ख) भाषाका विशेषताहरू बताउनुहोस् ।
(ग) ‘वाक्प्रतीक’ र ‘यादृच्छिक’ शब्दको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।
(घ) यस अनुच्छेदको पहिलो वाक्यलाई संयुक्त वाक्यमा बदल्नुहोस् ।