7 Nepali -- आमाको सपना

ask mattrab Visit www.askmattrab.com for more academic resources.

हर्क बहादुर

१.कविको सङ्क्षिप्त परिचय

    कवि दिनेश अधिकारीको जन्म स्व. नन्दहरी अधिकारी र स्व. शारदा देवी अधिकारीका पुत्ररत्नको रुपमा वि.सं. २०१६ मङ्सिर २२ गते काठमाडौंको बत्तीस पुतलीमा भएको हो।अतिरिक्त अभिलेखका लागि वि.सं. २०५६ को मदन पुरस्कार विजेता अधिकारी समसामयिक धाराका सशक्त कवि हुन्।

  समाजमा व्याप्त दमन,शोषण,अन्याय,अत्याचार,बेमेल र व्यक्तिभित्रका अहमका कारण मानवता ह्रास हुँदै गएको र मानवीय खम्बा ढल्ने अवस्थामा पुगेको कटु यथार्थ उनको कवितामा प्रकाशित पारिएको हुने गर्छ।

  गीति चेतना बोकेका अधिकारीले आफ्ना कवितामा आध्यानुप्रास,अन्यानुप्रास र मध्यानुप्रास जस्ता अनुप्रास योजनाको संयोजन गरि गेयात्मकता सिर्जना गरेका छन्।समग्रमा अधिकारीका कविताले युगीन चेतना प्रतिबिम्बित गरेका छन् ।सरल,सुबोध र कलात्मक भाषाशैलीमा सामाजिक, सांस्कृतिक बिम्ब प्रतीकको प्रयोग गरि मौलिक तथा सहज तत्सम,तद्भव शब्द चयनले अधिकारीका कविता उच्च कलात्मक बन्न पुगेका छन् ।

२.'हर्क बहादुर' कविताको मूल समीक्षा

हर्क बहादुर गरिब तथा निमुखा नेपालीको प्रतिनिधि पात्र हो।गरिब तथा निमुखाहरुलाई  समाजले छुट्टै पहिचान समेत दिँदैन।त्यसैले हर्क बहादुर कहिले दाउरेको नामबाट चिनिन्छ भने कहिले गाला चाउरी परेका हुनाले चाउरे भनेर चिनिन्छ।घामले डढेर कालो भएकाले कसै कसैले उसलाई काले पनि भन्ने गरेका छन् ।ऊ हर्क बहादुर भएर बाँच्न चाहन्छ। आफ्नै नामले चिनिन चाहन्छ। तर अरुको मुखबाट आफ्नो सक्कली नाम सुन्न उसले आफ्नो बाबुको श्राद्ध कुर्नु पर्छ।अत:कवितामा यहि व्यक्तिगत स्वत्वको खोजी गरिएको छ।

हर्क बहादुर पौरखी छ।बिहान झिसमिसेमै गोरु नारेर बाँझो मार्न जानु,कोदाली बोकेर खेतका आली ताछ्न् र बाउसे गर्न भ्याउनु उसको दैनिकी बनेको छ।ऊ सफल दूरदर्शी पनि हो किनभने उसलाई थाहा छ,आङमा लगाएको लुगा फाट्छ तर आङको छाला फाट्दैन। छाला गरिबहरुलाई प्रकृतिले दिएको सहज वस्त्र हो। यसलाई साहुसँग ऋण काढेर खरिद गर्न सकिदैन। हर्क बहादुर नाङ्गो आङ भारी बोक्छ।नाङ्गो आङले धर्ती जोत्छ। र नाङ्गो आङ सभा समारोहमा जान्छ।यो हर्क बहादुर जस्ता नेपालीहरुको बाध्यता पनि हो।त्यसैले हर्क बहादुर टिठलाग्दा अाँखाले झण्डाको कपडा र आफ्नो नाङ्गो आङ हेर्छ,अनि अनुमान लगाँउछ।संसार भरिका झण्डाहरु बटुलेर लुगा सिउन पाए हरेक नाङ्गालाई कछाड पुग्छ,मजेत्रो पुग्छ।यस्तो कल्पनाले ऊ छातीभित्र अट्टहास हाँस्छ।सायद उसलाई थाहा छ- मान्छेको प्रयोगमा नआउने वस्तुको अर्को उपयोगिता छैन।ऊ गम खान्छ।सभामा नाङ्गा मानिसहरु उभिएका छन्,अनगिन्ती। मान्छे आफैं आफ्नो परिचय पनि हो।

हर्क बहादुर धर्तीको पुजारी हो।उसको पूजाले धर्तीको माटो उर्वर बन्छ।ऊ यसैमा निमग्न छ।उसलाई आफू बाँचेको युग थाहा छैन। गते,बार,महिना,ऋतु,वर्ष र तिथी पनि थाहा छैन। खोजी पनि छैन,उसलाई समयको। समय त सायद आफ्नो पुच्छर आफैं निल्ने सर्पले भाेगि रहेको होला। श्रम निलेर हतियार छाद्ने कल कारखानाले भाेगि रहेको होला।योजना र आयोजनामा युग र समय अङ्कित होला। साइरन्हरुमा समय देखिएला।हर्क बहादुरले आजसम्म समय खोजेको छैन। समय भोगेको छैन।कसैसँग मागेको पनि छैन।समयको नाममा उसले अभावका महिषासुर झाप्पड भोगेको छ।भोकले छ्ट्पटिएर अन्नका दाना मागेको छ।जाडोले थुर थुर कामेर कपासका गाँठा मागेको छ।आफ्ना दस नङग्रा खियाउने बारीका पाटा र फगटा मागेको छ।हर्क बहादुरले हातमा बारुदका गोला र बन्दुक होइन,धर्ती खन्ने कोदाली र उम्रने बिउ मागेको छ।

हर्क बहादुर रातदिन परिश्रम गर्छ तर पनि भोकै रहन्छ। त्यसैले हर्क बहादुरको परिचय 'भोक' भएको छ।भोकको न कुनै देश हुन्छ। न आफ्नै भेष हुन्छ। भोको व्यक्तिले आफन्त र पराई पनि चिन्दैन।उसको जीवनमा त बारम्बार ठेस लागिरहन्छ। उसले अनेकौ पीडा झेल्नु पर्छ र असीमित पीडा भोग्नु पर्छ।यदि भोकलाई नै देश मान्ने हो भने हर्क बहादुर  भन्दा सुकिलो अर्को देश हुन सक्दैन। यदि शोकलाई देश मान्ने हो भने पनि हर्क बहादुर भन्दा ठुलो अर्को देश हुन सक्दैन किनभने हर्क बहादुर पल पल भोक र शोकले पिल्सिएर बाँचेको छ।

हामी राष्ट्रियता,स्वाधीनता र नागरिकताका ठुला ठुला कुरा गर्छौ। उसको ७ वर्षे छोरी सर्पले टोकेर मर्दा राष्ट्रियताको मलमले छोरीलाई बचाउन सकेन।अनिकालबाट बच्न छोरो मुगलान भासिँदा स्वाधीनताले रोकेन। बाढीले गाउँ नै बगाएर उठिबास लगाउँदा नागरिकताले बस्ने आश्रय दिन सकेन।त्यसैले उसलाई राष्ट्रियता,स्वाधीनता तथा नागरिकता केही चाहिँदैन। उसका लागि त यी कुरा सिउनीमा अल्झेको सूर्तिको धुलो जत्तिकै हो,जसलाई जम्मा परेर ऊ एक सर्को बिँडी पनि तान्न सक्दैन।

हर्क बहादुरको कुन देश पनि छैन। उसको बस्ने निश्चित ठेगान पनि छैन। ऊ त जुनसुकै गाउँ,सहर र देशमा रोग ,शोक,भोक भएर देखा पर्न सक्छ,ऊ कतै जित बहादुर भएर देखिन्छ। कतै भीम प्रसाद भएर देखा पर्छ।मानौँ ऊ एकलव्यको नयाँ सस्करण हो। त्यसैले कवि हर्क बहादुरको अवस्था देखेर द्रवित हुन्छन् र खर्च नपाएर तरुनी छोरीको बैँस ढलेको,बुढी स्वास्नीको भोक कामि रहेको हर्क बहादुरलाई आफ्नै श्रीमतीको सिन्दुर-पोते साक्षी राखेर सलाम ठोक्छ्न।दिमागमा छोराछोरीको लुगाफाटो र छातीमा आफ्नै सहिदजस्तो टिठलाग्दो अवस्था बोकेर हिंडेको उसलाई कवि आमाको काखको कसम खाएर सलाम ठोक्छ्न।आफ्नै करङका दतिउन र हाडको चन्दन घसेर मठमन्दिर,मस्जिद र गुम्बाका बाँचि रहेको हर्क बहादुरलाई कवि अधिकारी कविताको सलाम ठोक्छन।

Discussions

Close Open App