ऊ त्यो बन्द कोठीमा मेरो आमा
ए शान्तिका प्रतीक परेवा !
कुनै दिन तिमीले
शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको
हाम्रो सुन्दर यो देश नेपालमा
शान्ति ल्याउन सक्छौं भन्ने विश्वासमा
म नदीभित्र डुबुल्किरहेछु
राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सम्झेर
आँखाबाट आँसु झार्दै
डाको छाडी म रोइरहेको छु ।
किनकि हिजोआज
म देख्छु
चिसो सगरमाथामा
कठ्याङ्ग्रिएर फरफराउन बाध्य
मेरो झण्डा झैँ
वसन्तको खोजिमा भौँतारिइरहेको
एक नाङ्गो रूख हेर्दै
अधुरो सपना बुनिरहिछन्
ऊ त्यो बन्द कोठीमा
थुनिएकी मेरी आमा।
म देख्छु
कोइलीको मधुर आवाजसँगै
मयूरको नाच रच्दै
न्याउलीको करुण रोदनको साथ
रुँदै चिच्याउँदै
विरक्तिरहेकी छन्
मेरि आमा।
म देखछु
ऊ त्यो बन्द कोठीमा
थुनिएकी मेरीआमा
उषाको लालीले चुम्दैन उनलाई
जुनेली रातले छुँदैन उनलाई
एक निष्पट्ट अन्धकारभित्र
पिञ्जरामा पिल्सिएकी चरीझैँ
वेदना र तपतप आँसुको भेलमा
डुब्दै, तैरिँदै
अस्मिता दाउमा लगाइरहेकी छन्
ऊ त्यो बन्द कोठीमा
थुनिएकी मेरी आमा ।।
म देख्छु
एक मुठी आशा
एक अञ्जुली कुन्ठा बोकेर
हरेक बिहान मेरो आमा
आफूलाई ऐनामा हेर्नु हुन्छ ।
र देख्नु हुन्छ
शालिन, शौम्य र सुकोमल उस्तै रूप
र उस्तै भक्कारि हुन्छ देब्रे छातिमा हात लगाएर।
म देख्छु
सब बेकार ठान्नु हुन्छ
मलिन मुद्रामा हुनुहिन्छ मेरो आमा।
किनकि
आफु देश बनेर देशको मुहारमा तेजाब फलाउनेहरू
राष्ट्रवादको भाषण गर्न भ्याइरहेछन्
स्वाभिमान र स्वाधीनताका दस्तावेजहरू
माटोको मृत्यु पर्खे जसरी बसेका छन् ।
म देख्छु
पुंजीवादि र सामन्तवादी यहा
आफ्नो पखेटा फिजाई रहेछन्
अनेक नामका बाटाबाट
भूमन्डलीकरण र उदारीकरणको
डम्फु बजाइ रहेछन्।
म देख्छु
अनेक जीव निर्जिव चुसिरहेछन्
लुट्नसम्म लुटिरहेछन्
हरेक क्षण, पलमा
निर्धन दुःखीमाथि
आफ्ना कुदृष्टि फ्याँकिरहेछन्
र याहा आज
पुंजीवादि र सामन्तवादीका चरणमा
कसैको गोडा गलेको छ
चौतारि विरक्त गफले चर्किएको छ
त कसैको जाडोगर्मि
च्यातिएको भोटोले चलेको छ।
म देख्छु आज आमा
देश एउटा चिहान घर बनिसक्यो
र हामी मरेका लाशहरु सरहछौँ
यहाँ जुनको उज्यालो मध्य रातमा खस्छ
सडक पेटीमा सुत्ने भोका नानीहरुको अनुहारमा
र सहरका घरहरुको भित्तामा चम्कन्छ
तिनका मलिन अनुहार लिएर
यहि सहरमा हामी निसंकोच निदाइरहेका हुन्छौ
यो हाम्रो ईच्छा हैन
एक कडा चुनौति र बाध्यता बनेको छ।
म देख्छु
एउटी आमाको बीभत्स स्तन
प्यासी नजरहरुसामु लिलामी भैरहेछ
आफ्नै भोको छोरोको पेट भर्नका निम्ति...।
म देख्छुु
रातको गाढा नग्नतामा हराइरहेछ
एउटी युवतीको चित्का
जस्को च्यात्तिएको कपडा हेर्दै
र्याल चुहाइरहेछन् बतासका चिसा छाँयाहरु.।
म देख्छु
चिसो हिउँदे बिहानीमा
अहिले शीतको सट्टा हरेक
घाँसमा एउटा गरीबको आँशु भिख मागिरहेछ
जो,हरेक बिहानी
प्रत्येक मानिसको खुट्टा समाएर
एउटा चिसो आग्रह गरिरहन्छन्
जीवनको लागि...।
याचना गरिरहन्छन् ,बाँच्नकै लागि
आज एउटी सानी बालिकाको
आँखामा मरिरहेको
कालो गाजलको शून्यतामा
यौटा जीवन मुर्छा परिसकेको छ...।
म देख्छु,
प्रेमिकाको किशोर छातीमा
बलजफ्ती-जबर्दस्ती नाचिरहेका
प्रेमीका कामुक हस्तरेखाहरु
आज एउटा प्रेमको महिमा गुनगुनाइरहेछन्.।
म देख्छु,
एउटा कमजोर बाबुको आँखा नझिम्कँदा-नझिम्काउँदै
फुत्त भागिदिन्छ
एउटा निम्छरो साहस,
त्यो निर्जीव आँखाबाट
जो खोक्रोपनको रिक्त अस्तित्व बोकेर
आफ्नो सन्तानको
आवश्यकतालाई एकफेर मिठो सलामी ठोकेर
जिउँदै गाडिदिन्छ...।
.म देख्छु
खुकुरीले मागेको कथित बलिदानको लागि
रगतको रंग बेचिँदैछ भन्ने सुनेर होला
भटाभट गुराँसहरु आत्महत्या गरिरहेछन्।
मलाई डर छ म यो कुरा कसरी सुनाऊँ
ती नयनलाई
जसले उहिल्यै सिन्दुरको रंग बिर्सिसकी तर
जसलाई प्रष्ट थाह छ रगतको रंग....।
म देख्छु,
आकाशहरु एकअर्कासँग मुर्मुरिँदा-मुर्मरिँदै
कुनबेला चन्द्र-सूर्य आँखैअघिबाट
हराइसकेछन्...
हरेकको आँखाबाट यसरी नै
चन्द्र-सुर्य हराउने हो भने
एकदिन सपनाको आकाश केवल
शून्य हुनेछ.....।
म चाहन्छु
जब म ब्युझिऊँ
तब यी तमाम सपना
केवल सपनामा मात्र सीमित रहून्..।
.किनकि
सपना जब मृत्युको रुपमा
मेरो सामु आइपुग्नेछ,
ममा यति साहस अब बाँकी हुनेछैन कि
म आफ्नो मुटुको शंख बजाएर
आफ्नै सपनाको मलामी जाऊँ..।
तर याद रहोस यो सपना हैन
नेपाली यथार्थ हो,एक सच्चा देश
प्रेमिले मात्र बुज्छ ।
Mohan Budha