संस्कृतिको नयाँ यात्रा निबन्धको विषयवस्तु

निबन्धकार सुधा त्रिपाठीद्वारा संरचित 'संस्कृतिको नयाँ यात्रा' शीर्षक निबन्ध आत्मपरक शैलीमा लेखिएको विचारप्रधान निबन्ध हो । यस निबन्धमा निबन्धकारले बाल्यकालमा मनाएको दशैँ र त्यसले लेखकीय मनमा पारेको प्रभाव अनि जीवन यात्रामा बहुजातीय, बहुभाषिक नेपाली समाजका विविधतामय संस्कृतिले पारेको प्रभाव एवं संस्कृतिभित्र रहेका विकृति, विसङ्गतिका साथै साँस्कृतिक विभेद तथा साँस्कृतिक विचलनहरुको चिरफार गरेकी छिन् । नेपाली संस्कृति सबै जातजाति, भाषाभाषी, लिङ्ग, वर्ग एवं सम्प्रदायको साझा संस्कृति हो । सांस्कृतिक रुपमा वर्गीय, जातीय, लैङ्गिक, धार्मिक विभेद एवं असमान ब्यवहार गर्नु हुँदैन । संस्कृतिको रुपमा जरा गाडेका कुरीति, कुसंस्कार, रुढीवादी अन्धविश्वासी परम्परा, कुप्रथा एवं उत्पीडनहरुको अन्त्य गरी न्यायपूर्ण साझा सुन्दर संस्कृतिको निर्माणबाट नै विभेदमुक्त न्याय र समतामूलक नयाँ समाज, नयाँ संसार निर्माण हुन्छ । साँस्कृतिक मेलबाट नै राष्ट्रिय एकता र जातीय सद्भाव कायम भई विभेदरहित न्याय र समतामूलक समुन्नत समाज निर्माण हुनेछ । जुन नयाँ नेपालको साँस्कृतिक दिशा र गति हो अनि नयाँ पुस्ताको नयाँ मागरखा हो अनि संस्कृतिको नयाँ उज्यालो यात्रा हो भन्नु नै यस निबन्धको मूल विषयवस्तु वा भाव हो ।