एक चिहान

लेखक परिचय:
हृदयचन्द्रसिंह प्रधान (वि.सं. १९७२- २०१६ ) बहुमुखी साहित्य स्रष्टा हुन् । उनले नाटक , निबन्ध , उपन्यास , समालोचनाजस्ता धेरै विधाका कृतिहरु लेखेका छन् । उनी आफ्ना रचनामा खास गरी समाजको सुधार गर्ने प्रगतिशील विचार अभिव्यक्त गर्दछन् । उनले रचेको एक प्रसिद्व प्रगतिशील उपन्यास एक चिहान हो भने स्वास्नीमानछे उनको अर्को चर्चित उपन्यास हो ।उनले नेपाली समाजको यथार्थ चित्रण गर्नु र परम्परागत समाजप्रति आलोचनात्मक दृस्टी राख्नु उनको मुख्य बिशेषता हो ।
पत्रहरु:
अष्टनारन गोदत्तप्रसाद
लतमाया सुरमान
शिवनारन रामबहादुर
पुननारन हर्षनारन
नानीथकुँ हाकुमाया
सारांश:
एकतीस खण्डमा संरचित एक चिहान उपन्यास अष्टनारान नाम गरेका एक किसान सिकिस्त बिरामी परेको अवस्थाबाट सुरु हुन्छ । परिवारका अन्य सदस्य घरको मूली मान्छे वा अभिभावक बिरामी परेकोमा निकै चिन्तित छन् तर बुढा अष्टनारान आफू बाँच्ने आशा निकै कम भएकाले मेरा लागि औषधि मूलोमा व्यर्थ खर्च नगर्नु, म मरेपछि पनि कुनै काजक्रिया नगर्नु, त्यसले व्यर्थ खर्च बढाउँछ, यसले परिवारमा झन् आर्थिक समस्या निम्त्याउँछ भन्ने अर्ती दिन्छन । लास बोक्दा लाग्ने कात्रो किन्ने पैसा पनि नहोला भनी २५ रूपैयाँ जमिनमुनि गाडेर राखेको कुरा पनि अष्टनारान परिवारलाई सुनाउँछन् । अष्टनारानको त्यस्तो विचार हुँदाहुँदै पनि परिवारले ऋण लिएर सुरुमा स्थानीय गुभाजुकहाँ झारफुक गर्न लगाउँछ तर रोग निको हुँदैन । त्यसपछि अर्का नाम चलेका डाक्टर गोदत्त प्रसादकहाँ जचाउन लाने निर्णय परिवारले गर्छ र छोरो शिवनारान गोदत्त प्रसादकहाँ पुग्छ तर पैसाका पछि कुद्ने डाक्टर गोदत्त प्रसादले खासै वास्ता गर्दैन । डा. गोदत्त प्रसाद त्यही टोलकै गुभाजुलाई देखाए भइहाल्यो नि भन्दै अष्टनारानको घरमा आउन मान्दैन तर अर्का भाइ पुननारान गएर फी घरमा पुग्ने बित्तिकै दिने वाचा गरेपछि डा.गोदत्त प्रसाद अष्टनारानकहाँ आउन मन्जुर हुन्छ । उसले अष्टनारानको घरमा पुगेर उनलाई जाँची सबै सरसल्लाह दिन्छ र औषधि तथा इन्जेक्सन लगाउनु पर्ने सल्लाह पनि दिन्छ । सोही व्रmममा ऊ अष्टनारानकी तरुनी छोरी देखेर निकै मोहित हुन्छ । अफिसबाट घर नगई सोझै अष्टनारानको घरमा पुग्छ र बिरामी जाँचेको शुल्क पनि अहिले नभए पछि दिँदा पनि हुन्छ भन्ने भावना व्यक्त गर्छ । यसरी लगातार घरमै आएर डाक्टरले उपचार गरेकोमा अष्टनारानले छोराछोरीलाई धेरै ऋण लाग्ने भो भन्ने धारणा राख्दा छोरा शिवनारानले डाक्टरले निःशुल्क उपचार गरिदिने निर्णय गरेको कुरा सुनाउँछन् । त्यसै समय अष्टनारानले यो लोभी डाक्टरको नियतमा शङ्का गर्छन् । बाजेबराजुको पालाको जग्गाजमिन पनि यसै गरी ऋण लागेर सकिएको कुरा सुनाउँदै अष्टनारानले समयमै होसियार हुनु पर्छ भन्ने धारणा परिवारसामु राख्छन् । अष्टनारानको स्वास्थ्यमा केही सुधार आएकोमा परिवारका सदस्यहरू राम्रोसँग निदाउन पाउँछन् । यसै समयमा अष्टनारानले किसानको पहिलो कर्तव्य भनेको खेतीकिसानी रहेकाले आफूलाई कुर्न लतमाया (अष्टनारानकी श्रीमती) एकजना भए पुग्ने सल्लाह दिन्छन् । अष्टनारानको स्वास्थ्य बिग्रिएकोमा डाक्टर गोदत्त प्रसाद परिवारका सदस्यलाई स्थिति नाजुक रहेकाले एकजना कुरुवाले नछोड्न सल्लाह दिँदै बिरामी अष्टनारानलाई भने निको हुन्छ भन्दै सान्त्वना दिन्छ । परिवारका सबै सदस्य उनको गम्भीर स्वास्थका विषयमा चिन्ता मान्छन् तर अष्टनारान आफूलाई कुनै कसिमको काजक्रिया, दानदक्षिणामा विश्वास नभएकाले आफ्नो पेसामा लगनशील भएर लाग्न परिवारका सबै सदस्यहरूलाई सल्लाह दिन्छन् । यस्ता गन्थन गर्दागर्दै निकै थलिएका अष्टनारानको निधन हुन्छ अनि परिवारमा रुवावासी मच्चिन्छ ।
निकै मिलनसार र समाजसेवी भावनाका कारण अष्टनारानको मृत्युमा गाउँटोलवासीमा समेत रुवावासी सुरु हुन्छ । आर्थिक अवस्था निकै नाजुक भएकाले अष्टनारानको अन्त्येष्टि (दाहसंस्कार) का लागि कात्रो किन्ने पैसा समेत हुँदैन । घरमा लास छोडेर छोरा पुननारान र छोरी नानीथकुं डा. गोदत्तप्रसाकहाँ पैसा माग्न पुग्छन् । नानीथकुंको यौवनमा मख्ख परेको गोदत्त प्रसादले कुनै आनाकानीविना २५ रूपैयाँ दिँदै परेमा अरू सहयोग गर्न तयार भएको कुरा जनाउँछ । किशोरी नानीथकुंप्रति मोहित भएको गोदत्त प्रसाद पैसाकै बलमा उसको जवानी लुट्ने योजनामा लागि पर्छ । सोझी र सरल स्वभावकी नानीथकुं पनि गोदत्त प्रसादको जाली प्रेमजालमा फस्न पुग्छे । यसैगरी अर्को व्यक्ति तल्सिङ सुरमान सुब्बा पनि नानीथकुंको पछि लागेको हुन्छ । उसले आफ्नो दलाल रामबहादुर मार्फत विदेशी तान किनिदिएर नानीथकुंकाई आफ्नो पकडमा पार्ने प्रयास जारी राख्छ । उसले एक वर्षका लागि कुत पनि माफी गरिदिने लोभ देखाएर नानीथकुंलाई जसरी पनि आफ्नो पकडमा आकर्षित गर्ने प्रयास गर्छ । आमा लतमायाले सुरमान सुब्बासँग नानीथकुंको विवाह स्वीकार भए पनि दाजु शिवनारानको खबरदारीका कारण सुब्बाको षड्यन्त्र विफल हुन्छ ।
यता डा. गोदत्त प्रसाद र नानीथकुंको प्रेमसम्बन्धको हल्लाले गाउँटोल पूरै छोप्छ । गोदत्त प्रसादकी श्रीमतीले नानीथकुँलाई नारीको महिमा र अस्तित्वबारे सचेत पार्छिन् । शिवनारानले तराईवासी रामखेलावन राउतसँग उसको बिहे गरि दिन्छन् । हर्षनारानको बिहे तामाङनी केटी पुतलीसँग हुन्छ । उनीहरु अन्तर्जातीय विवाहको पक्षमा हुन्छन् । त्यस्तै विवाहमा पनि जातीय एकताका लागि सहयोगी हुन वस्तुहरु उपहारका रुपमा प्रदान गर्छन् । त्यसपछि शिवनारानको परिवार खेती किसानीमा व्यस्त रहन्छन् । शिवनारान र उसकी श्रीमती खेतमै गोठ बनाएर बस्न थाल्छन् भने अन्य परिवार गाउँको घरमै बस्न थाल्छन् ।
२०११ सालमा तीन दिन तीन रात सम्मको भीषण वर्षाका कारण शिवनारानको परिवारलाई बाढीले बगाउँछ भने पुरानो घर पनि भत्केर बाँकी परिवारको पनि एक चिहान हुन्छ र उपन्यासको अन्त्य हुन्छ ।