or

ask mattrab Visit www.askmattrab.com for more academic resources.

भलादमी

निबन्धकारको परिचय  :

लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ - २०१६) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् | उनले कविता काव्य , निबन्ध, नाटक  कथा , उपन्यासको सिर्जना गरेका छन्|  उनी स्वच्छन्दतावादी साहित्यकार हुन| उनका सिर्जनामा मानवतावा-द,  देशभक्ति , प्रक्रितिचित्रण  क्रान्तिकारी प्रगतिशील चेतनाका साथै मानव जीवनका विकृति  विसङ्गगिप्रतिको व्यङ्ग पनि पाइन्छ | लक्ष्मी निबन्धसङ्ग्रह  दाडिमको रुखनेर उनका निबन्धसङ्ग्रहहरु हुन् | उनले मुनामदन , कुञ्जिनी , राजकुमार प्रभाकर , मायाबिना सर्सी जस्ता खणडकाव्य  शाकुन्तल, सुलोचना , प्रमिथसजस्ता महा-काव्य पनि लेखेका छन् | निबन्धकारका रुपमा आत्मपरकता उनको मुख्य पहिचान हो| जिवनजगतका  विभिन्न विषय-लाई आधार बनाएर उनले आफ्ना मनोभाव तथा विचारहरुको सुन्दर संयोजन गरी अत्यन्त उत्कृष्त निबन्धहरु रचेका छन् 

निबन्ध:

विकासको सिद्धान्तअनुसार कुनै जाति ओरालो लागिरहेछन्, कोही उकार लागिरहेछन्| कसैलाई  खिइनु छ,कसैलाई फाल्नु र फैलनु छ| ब्यासजिको सिंह आजकलको भारत वर्षमा गर्जन गर्दैन| बाघको हुकुम चलिरहेछ | त्यस्तै भाषाको देशमा लबजको  दशा हुन्छ| कोही कोही शब्दहरु दुब्लापातला भएका छन् , तिनीहरूको प्राचीन महत्व उडेको छ | ज्यादा पुरानो टकमा खिया लाग्दछ| ‘ पण्डित ‘र ‘गुरु’ भन्ने लबजमा केही फिक्कापन चढ्न लागेको छ |त्यस्तै ‘भलादमी ‘भन्ने शब्दमा पनि अर्थको यति अपभ्रंश भएको छ कि भलादमीपनको भडक र पोशाकसँग नाता जोडी- सक्यो| भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर विज्ञापन छाप्न  लाग्यो |खंIडी  र कोराले अबभलादमी  बन्न सक्दैन; घरबुने भलादमिलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो| चरित्रका भलादमी अतीत र अध्यारो कोठरीमा छन् ,रङ र रेसमका भलादमी काठमाडौंका गल्लीमा खुसबु उडिरहेँ छन् |जमाना रङ बदलिन्छ|


नोटको भाउ बढेको भए तापनि आजकल  भलादमिपन सस्तो मोलमा पाइन्छ |  भलादमीपनलाई सुचिकार र मारवाडीले बिक्री गरिरहेछन् | तिमी भलादमी बन्न चाहन्छौ भने सिधासाधा मानिसको कोरापनलाई दर्जीकहाँ गएर काटछाँट  गरीमाग 

|दुई -चार रुपैयाँ बढाइदेऊ तब तिमी कुँदिएको पानीदार हिरा बन्दछौ |छाँट मिलेको कोट पहिरेर ,एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुमचुरुम आवाजमा फुर्तिलो कदम बढIऊ तब गल्लीको कुकुरले पनि तिमीलाई चिन्दछ | तिम्रो भलादमिपन स्वीकार गरेर तिमीउपर भुक्न आउँदैन |चोरीको शंकाले सम्बोधन गर्ने भलादमीको अपमान हो भन्ने उसले पनि जानेको छ |सफलताजस्तो हौसला दिने केही छैन| तिमी झन्  फुर्तिलो कदम बढाउँछौ | समाजमा तिम्रो भलादमीपनलाई ‘हजुर’ले गजुर लगाउँछ| जति काटछाँट गरिएको हुन्छ,उति फुर्ति लम्बिएको हुन्छ |त्यसमा चस्मा चढायो भने त बिचरो दुनियाँ तिम्रो नजरको के सामना गरोस् |


विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्छ | भलादमीको प्रमाणपत्र सधैं उसको शरीरउपर विज्ञापन जाहेरी गर्दछ | पोसाक मात्र पहिला पास हो  | त्यसमा पनि रेसमी रुमालको फूलदार फकाई र टोपीको ककईले पहिलो श्रेणीमा उत्तीर्ण भएको जनाउँछ|  कपालको छाँट र जुंगाको कटाइले दोस्रो परीक्षाको परिचय दिन्छ| फेरि आँखीभौंको मसिना डोराले , ओठ  र गालाको फिक्का हलुका लालीको  सुस्त चढाईले  उत्तम श्रेणी जनाउँछ| सबको शिखर , एउटा सौन्दर्यवर्धक कोठी र अत्तरको हरहराउँदो खुसबुले सडकमा हिँड्नेहरुको नाक र नजरमा  आक्रमण गरेको हुनुपर्दछ| यसमा पनि विशिष्टता  हिँडाइको कला , लच्काई ,हाउभाउ, हास्य र बोलीमा निर्भर रहन्छ|

 उच्च दर्जामा पुगेपछि विशेष गुणहरु सबैसँग हुन्छन् | त्यस्तै कोही भलादमीहरु नआएको भकभकेपन झिक्तछन् |गुलाबको  जस्तो भलादमीको पनि ढङ्गको रङ्ग रहनुपर्दछ | साधारण जनताबाट भेद जनाउनलाई भलादमीको हाड नभएको जिब्रो बोलचालमा वैज्ञानिक तवरले लटपटिन्छ| यस्तो भकभकाउनु पनि एउटा शोभा बढाउने अलंकार हो | कोही भलादमीहरु चेहेरको अनौठो ढंग निकाल्दछछन् |कसैको रेसमी रुमाल झिकेर रुघा नलागेको नाक  पुछिरहने बानी हुन्छ, यो पनि रवाफको  एक काइदा हो ,दुनियाँको नजरलाई लोभ्याउने रेसमी झलक हो |कोही भलादमीले ग्रामोफोनबाट हाँसो उतारेका हुन्छन् र सभ्य पास्चात्य हाँसोको अप्राकृतिक रुप धारणा गरेको हुन्छन् | कसैको हाँसो कलकत्ताको सडकबाट ल्याएको हुन्छ| ओठ लम्याएर सुनले बाँधिएको एउटा दाँतले निकालेको  मिठो मुस्कान सडकको शिष्टाचार बन्दछ| कोही भलादमीहरुले असाधारण नम्रता लिएका हुन्छन् , विनयको बोझाले भोटिनीको कानमा चक्कीले जस्तै यिनीहरुलाई शोभा दिन्छ |कोही बोलक्कड हुन्छन्| बक्बकोपध्यय्को सर्टिफिकेट विश्वविद्यालयले कुनै दिन निकाल्ने छ | कोही बडागफी  हुन्छन् |कलकत्ता र बम्बई उनीहरुका हावाखोरी थिए| कसैलाई आफ्नो कुरा माथि पार्ने प्रभुत्व रुच्तछ तर कोही हुन्छन् बडा बुझक्कड,सुकरातको  गम्भीर भाव , रविन्द्र बाबूको चेहेराको उडान ,उनकै आकृतिमा बसेको हुन्छ| बहुत कम बोल्दछन्, दुनियाँले उनीहरुलाई तौलन  सक्दैन|

आकर्षण शक्तिको  सिद्धान्त भलादमीउपर घट्तछ| भलादमीको  नजिकमा एउटा नदेखिने चुम्बकले तान्दछ |जबसम्म  तिमी  भलादमीहरुको छायामा रहन्छौ तबसम्म तिमी आफूलाई मानिस भन्न दोधारमा रहन्छौं | तिम्रो आदर या प्रशंसा उनीतर्फ खिचिएको हुन्छ| उनका गुफलाई तिमी सफेद  सत्य भनि ठान्दछौ| फेरि उनीहरूको मोहनीबाट पचास गज दूर नभईकन तिमीलाई साँचो कुरा झाल्किंदैन |अरु  यस्तो शक्तिले स्त्रीजातिका उपर  ज्यादा काम गर्दछ| आकर्षण शक्तिको नियमअनुसार भिन्न वस्तुहरु परस्पर खिचिन्छन्|

 प्रशंसा प्रेमको जिउँदो आकार भलादमी हो | हामी अरुलाई आफ्नो पुजारी बनाउन चाहन्छौं| यो भाव भलादमिमा सबभन्दा चर्को तवरले देखिन्छ |दुनियाँको नजर  नभए भलादमीपनको दरकार थिएन | पूजा गर्दा हामी देवतालाई सिंगार्दछ ,आफै आसन जमाउछ ,लोकप्रियता र प्रभुत्वको कला भलादमीले स्वभावैले लिएर आएको हुन्छ |मानिसको देखावटी चातुर्य भलादमीको प्रतिभा हो | भलादमीपन चरित्रको एउटा विचित्र प्रदर्शनी हो |


भलादमीको दुनियाँ बाहिरी देखावटमा  हुन्छ  | भलादमी र फुस्रा सिद्ध मनोवैज्ञानिकका दुई छेउमा रहेका हुन्छन्| पहिलाको  दृष्टिगोचर दुनियाँसँग सम्बन्ध रहन्छ, पछिल्लाको जगत् आँखाको पहुँच पार हुन्छ |एउटाले चर्मचक्षु को हद देखाउँछ| अर्काले मनका आँखाको सिमा देखाउँछ| एउटालाई अर्को पागलजस्तो हुन्छ| यसलाई वस्त्रजस्तो ठुलो चमत्कार केही छैन ;उसलाई परिधानको बेपर्वाही हुन्छ| एउटा भन्छ, “ हेर , रमाइलो दुनियाँ जीवनको आनन्द कहाँ छ ? खानु, पिउनु, हास्नु, मोज उडाउनु मानिसकै जुनीको  अधिकार हो |”  अर्को भन्छ,” दुनियाँ रंग्मगाइरहेछ|  म दुइटै चमत्कार देख्तछु -तारांकित आकाशको महिमा र भित्रका नैतिक नियमको विभूति!” यी दुईको सधैंको झगडा छ , भलादमी  भौतिकवादको प्रतिनिधि हो, महात्मा अध्यात्मवादको वाङ्मुख हो |सत्य बिचैमा रहन्छ भन्दछन् |

भलादमीका अरु किसिमका सूक्षम रूपहरू छन् |  जसको नजर आफूबाहिर छ ,भलादमी भनेको त्यही हो| बोक्रेपन सबै भलादमीको  चिन्ह हो|  साहित्यका क्षेत्रमा पनि यस्ता भलादमि हुन्छन्| जब तिमी  लोकप्रियता र  देखावटमा लाग्दछौ , तिमी बोक्रे कवि या बोक्रे लेखक बन्दछौ |विचार आत्मा हो ,शब्द शरीरको अलंकारादि वस्त्रभूषाहरु हुन्| जब तिमी शब्द र अलंकारका पछि दगुर्र्दछौ तब तिमी साहित्यिक भलादमी बन्दछौ |जनताको आधुनिक रुचिले तिमीलाई शिर चढाउछ  तर फुस्रा बाबाका छातीमुनि पनि विचित्र श्रिंगर रहेको हुन्छ| यो भित्रको बैचित्रय ,त्यो बाहिरको| तर भलादमी जति रंगीचंगी भए पनि नांगा सिद्धको चेहेरामा भित्रबाट निस्किएको  ज्योति नै प्रभावपूर्ण हुन्छ | भलादमी !तिमी प्रसिद्ध हुन हतपताउंछौ पैसाजस्तै नाम पनि सच्चा तवरले कमाउनुपर्दछ तर तिमीलाई प्रशंसा प्रेमले मात्र कर्म क्षेत्रमा ल्याउँछ | रंगीचंगी भडकले आउछौ ,तिमी हृदयमा आसन जमाउँदैनौ , आँखा मात्र तिर्मियाउछौ | भीत्र हेर्न छाडेर बाहिरको विचार गर्नसाथ तिमी साहित्य देशमा गल्लीको बोक्रे भन्दा भलादमी बनिहल्दछौ |कांचको  चस्माको  ठाउँमा तिमी किताबका चस्मा चढाऔला , पाउडरको सत्ता तिमी कालो चरित्रको चेहेरामा सफेद लगाऔला | लालीको बदला तिमी नक्कली रङ्ग रचाऔला |


त्यस्तै अरु क्षेत्रहरुमा पनि भलादमिहरु छन् | चित्तशुद्धिभन्दा शरीरशुद्धिको विचार राख्ने पुजारी, भावभन्दा शब्द याद गर्ने पाठक , मानिसको हितभन्दा आफ्नो नामको ध्यान राख्ने सुधारक , मासु खाएर सहभाव को कविता लेख्ने कवि, बुझाउनु भन्दा हात लगाउने जान्ने शिक्षक, गर्नभन्दा बोल्न जान्ने नोकर ,अर्काको लेखमा हँस्सी डाएर कलम सुताउने पाठक- यी एक एक किसिमका एक से एक भलादमी हुन् |