7 Nepali -- I Was My Own Route

ask mattrab Visit www.askmattrab.com for more academic resources.

मधुमालतीको कथा

कथाकार परिचय

रमेश विकल (वि. सं. १९८५-२०६५) प्रसिद्ध आख्यानकार हुन् । उनले नयाँ सडकको गीत, आज फेरि अर्को तन्ना फेरिन्छ, एउटा बुढो भ्वाइलिन आशावरीको धुनमा, उर्मिला भाउजू, शव सालिक र सहस बुद्धजस्ता कथासङ्ग्रह; अविरल बग्दछ इन्द्रावती, सागर उर्लन्छ सगरमाथा छुनजस्ता उपन्यासको सिर्जना गरेका छन् । सामाजिक यथार्थलाई टिप्तै त्यसप्रति आलोचनात्मक दृष्टि राख्ने विकलका कथामा प्रगतिशील चेतना पाइन्छ । उनी सामाजिक जीवनको यथार्थ चित्र उतार्न सक्ने सशक्त कथाकार हुन् । उनले बालमनोविज्ञान तथा निम्न वर्गका बालबालिकाको जीवनका विविध अवस्थाको चित्रण गरेर प्रशस्त कथा लेखेका छन् । बिपन्न वर्गप्रति सहानुभूति प्रकट गर्दै सामन्ती वर्गको शोषण अन्याय अत्याचार लाइ बिद्रोह गर्ने कथाकार विकलका कथामा गरिब जनजीवनका समस्या बाध्यता र विवसता व्यक्त गरिएको पाइन्छ l उनको 'मधुमालतीको कथा' मा पनि यही विशेषता पाइन्छ ।


पात्रहरु

शङ्खर : यस कथाको मुख्य पात्र शङ्खर हो । शङ्खरलाई "म" पात्रको रुपमा दर्साइएको छ । ऊ एक निम्न वर्गीय परिवारको अबोध बालक हो । ऊ समाजमा हुने वर्गीय विभेदसँग अन्जान छ । आफ्नी आमाले सुनाएको दन्त्य कथा सुन्दै कल्पनामा डुब्ने गर्छ शङ्खर । आफ्नी साथी गौरीसँग खेल्न ऊ औधी मन पराउँछ । उसमा अहम जिज्ञासु केठी हठी र जिद्धीवाल स्वभाव छ 

गौरी : गौरी शङ्खरकै उमेरकी एक बालिका हो । उनी भने गाउँमध्ये सम्पन्न परिवारबाट हुन् । ऊ पनि शङ्खरसँग खेल्न औधी मन पराउँछे तर उसको फुपूदिदीको कारण उसका इच्छा पूरा हुँदैनन् । ऊ शङ्करको बाल दौतरी हो । गौरी निश्चल निश्वार्थ निर्दाेष देखिन्छे ।

शङ्खरकी आमा : शङ्खरकी आमा शङ्खरलाई सधैं मधुमालतीको कथा सुनाउने गर्छिन् । समाजका उच्च वर्गीयहरुसँग आफ्नो छोरा खेल्न जानू उनलाई भने निको लाग्दैन । उनी आफ्नो छोरालाई भने धेरै माया गर्छिन् ।

फुपूदिदी : गौरीकी फुपूदिदी उच्च वर्गकी क्रूर पात्रका रुपमा चिनिन सकिन्छ । उनलाई गौरी र शङ्खर खेलेको वा सङ्गै भएको पटक्कै मन पर्दैन । उसको नकारात्मक सोच र क्रियाकलापको प्रभाव गौरी र शङ्करको परिवारमा परेको छ । जसले गर्दा गौरीका बुबाले बसाई सरेको र त्यसले गर्दा गौरी र शङ्करको बिछोड भएको छ ।

यी बाहेक कथामा शङ्खरका बुबा, गौरीका घरका सहयोगी र गाउँलेको पनि थोरै भूमिका छ ।


कथामा भएका घटनाक्रमका बारेमा संक्षिप्त विवरण

- शङ्खरकी आमाले शङ्खरलाई सधैँजसो कथा सुनाउनु, 

- मधुमालतीको कथा सुनाउँदा शङ्खर उत्साहित भै सुन्नु,

- मधुमालतीको कथाको राजा मधुकरलाई आफू र मालतीलाई गौरीको रुपमा शङ्खरले सम्झिई कथालाई रोमाञ्चक रुपले लिनु

- त्यस पछि शङ्खरले चाखलाग्दो तरिकाले गौरीलाई मधुमालतीको कथा सुनाउनु र गौरीले पनि उत्सुकता जनाउनु

- मधुकरले झैं आफूले पनि घोडामा गौरीलाई लाने भनी शङ्खरले प्रतिबद्धता जनाउनु

- शङ्खर र गौरी खेल्न थाल्नु र गौरीको साइकल कुदाउन भनी शङ्खरलाई आमन्त्रण गर्नु

- शङ्खरले साइकल कुदाउँदा गौरीकी फुपूदिदीले देखेर सहयोगीको मार्फत क्रुर ढङ्गबाट साइकल खोस्नु

- शङ्खर दुखी हुनु र गौरीले सम्झाउनुका साथै गौरीले फुपूदिदीलाई पनि गाली गर्नु

- त्यस बखत धनी-गरीब, छोटा-बडा को कुरा शङ्खरको मगजमा आउनु तर त्यो किन र कसरी भन्ने प्रश्नको उत्तर शङ्खरले नपाउनु

- शङ्खरलाई ज्वरी आई बिरामी हुनु

- उ अब गौरीसँग खेल्न जान नपाउनु

- मधुमालतीको कथा सम्झी शङ्खरले आमाबुबासँग जिद्दी गरेर मुरली र खेलाउने घोडा मगाउनु

- शङ्खरको आश भए पनि गौरी उसलाई भेट्न नआउनु

- केही दिनपछी शङ्खर निको हुनु

- गौरीलाई भेट्न शङ्खर उसको घर जानू

- तर गौरी भने सबै परिवार र सामान सहित अन्त कतै जाने तरखरमा हुनु

- छोटाहरुको सङ्गतले गौरी बिग्रेको भन्दै उसलाई तराई लग्ने कुरा शङ्खरले थाहा पाउनु

- गौरी त्यस ठाउँ छाडी मोटरमा जानू र शङ्खरका सपना र वायुपङ्खी घोडा दुवै चकनाचुर हुनु ।


धारणा 

“मधुमालतीको कथा” सामाजिक कथा हो । यो कथा बालमनोविज्ञानमा आधारित छ । हाम्रो समाजमा घट्ने घटनाको यथार्थ चित्रण गरिएको यस कथामा बालबालिकाहरु तिरस्कृत हुन्छन् । उनीहरुमा विभेद गर्ने तत्व हाम्रो समाजमै छन् भन्ने यस कथा मार्फत दर्शाइएको छ । जो आफ्नो सम्पन्नताका आडमा गरीब र विपन्न वर्गका छोराछोरीलाई माग्ने छोराको संज्ञा दिन्छन् । शङ्कर गौरीलाई भित्री दिलबाट माया, स्नेह र आदर भाव राख्दछ । समाजमा देखिएको धनी र गरीबको सीमा मेट्न नसकिएसम्म यस्तै भेदभावपूर्ण व्यवहार हुन्छ भन्ने यस कथामा भन्न खोजिएको देखिन्छ। 

हाम्रो समाजमा धनी र गरिब बीचको खाडल चिंतानायोग्य छ।  सबैको सहकार्यबाट यस्ता विभेद हटाउन सके मात्र हामी अघी बढ्न सक्छौ । तर यस्तो हुन सकेको छैन । शंखर र गौरी बालबालिका बाहेक सबैको सोच विभेदलाई प्रोत्साहन गर्ने र यसको विरुद्धमा नबोलेको हिसाबमा कथामा देखाइएको छ। 

बालबालिकाहरुमा सामाजिक छेकवार र विभेद हुँदैन । उनीहरु निष्कलङ्कित हुन्छन् । जसरी  मधुकरले मालतीलाई प्रेम गर्दछ  र मालतीको विछोडमा मधुकर विह्वल भएको छ । त्यसरी नै शंकरले गौरीलाई आन्मिक प्रेम गर्दछ र आफु विरामी पर्दा बाँसुरी बजाउँदा गौरी टुप्लुक्क आईपुग्छे भन्ने भ्रम शंकरले राखेको छ । गौरी पनि शंकरलाई माया गर्छे । आफु टोल छोेडेर जानुपर्दा खिन्नता प्रकट गर्छे । 

सामन्ती वर्गले गरिब वर्ग प्रति गर्ने रुखो व्यवहारलाई कथामा प्रस्तुत गरिएको छ l गौरीको परिवारले शंखरलाई गरेको अपमान, तिरस्कार र घृणाले सम्पन्न वर्गको क्रूर,अविवेकी र अमानवीय सामाजिक यथार्थलाइ प्रस्तुत गरेको छ l नेपाली समाजमा विभिन्न बर्गका मानिसहरु बस्छन् । त्यसैले समाजमा बर्गीय विभेद देखिन्छ । मानिसहरु आफुलाई ठूलो र भट्ट सम्झिन्छन् । यस्तो मनोवैज्ञानिक समस्याले ग्रस्त समाजमा बाल बालिकालाई प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्नु स्वभाविकै छ । गरीब र धनीको छुट्टाछुट्टै वर्ग बनेको समाजमा पाइन्छ । जुन समाजको हित विपरित र यसको प्रभाव प्रत्यक्ष बालबालिकामा परेपनि समाजले नै बालबालिका बीच भेदभावको वातावरण सृजना गरेको बुझिन्छ । धनीका छोराले गरीबका छोरासित सम्बन्ध बढाए पारिवारिक प्रतिष्ठामा आँच आउने कुरा सुने बालबालिकाले आफुलाई उच्च कुलोत्यन्न, सम्पन्न सम्झन्छन् । बालक जन्मदै भेदभाव गर्ने सक्ने भएको हुँदैन । उसलाई हाम्रो समाजको वर्गीय रेखाले विस्तार विस्तारै पारिवारिक मर्यादा, रीति–नीति र चालचलन सिक्दै हुर्किन्छ र समाजको आचरण सिक्दछ । त्यसैले कुनै पनि बालकलाई वर्गीय विभेद गर्न समाजले नै सिकाउँदछ । किनकी कुनै पनि बालको घर पछिको पाठशाला आफ्नो समाज नै हुन्छ । तसर्थ बालबालिकाका बीचमा विभेद सिर्जना गर्ने मुल कारण समाजनै हो । 

मधुमालतीको कथा एक सामाजिक, आर्थिक, बालमनोवैज्ञानिक विचारमा आधारित छ । यो कथामा कथाकारले प्रगतिशील भावना व्यक्त गरेका छन् । नेपाली समाज सम्पन्न र विपन्न गरी दुई भागमा विभाजित भएको, विपन्नले आफुलाई सानो र सम्पन्नले आफूलाई ठूलो भन्ने रोगले ग्रस्त हाम्रो नेपाली समाज विकासका लागि हानिकारक ठानिन्छ । यस कथामा प्रयुक्त घटना नेपाली समाजमा देखिएको सामाजिक विभेदकता र त्यसले पार्न सक्ने दुरगामी प्रभावलार्य कलात्मक भाषामा प्रस्तुत गरिएको छ । आर्थिक दृष्टिले सम्पन्न र विपन्न वर्गमा चालमेल र उठबस नहुँदा टोलै छाडेर जानुपर्ने बाध्यात्मक परिस्थितिको शिकार भएको यथार्थ अवस्थालाई निकै रोचक र प्रभावकारी ढङ्गले यस कथामा प्रस्तुत गरिएको छ । यस कथामा बालबालिकाको मनोविश्लेषण गरी उनीहरुको भावना धारणालाई निकै शुक्षम रुपमा प्रस्तुत गरी वर्गीय विभेद प्रष्ट पारिएको छ । समग्रमा कथा प्रभावकारी र निकै रोचक देखिन्छ । 

शंखारकी आमाले सुनाएको मधुमालाताको कथामा सुखद अन्त्य भए पनि सामाजिक बेथिति र सोचको कारण शंखर र गौरीको कथामा सुखद अन्त्य हुन सकेको छैन।  

Discussions

Close Open App